
गैंडाकोट, असार १ । बस्तीभित्र सुकेका सालका रुखहरू हावाहुरीमा लड्ने जोखिम बढेपछि करिब ४०/५० घरधुरी त्रासमा छन्।
गैंडाकोट वडा नम्बर १० मा पर्ने महादेव टोल र हरियाली टोलभित्र सुकेका रुखहरूले घर गोठ नै च्याप्न सक्ने त्रास रहेको छ । कानुनी रूपमा सालका रुख काट्न नपाइने भएकाले स्थानीयवासी वर्षौंदेखि डरै डरमा बस्न बाध्य छन् । उनीहरूले डिभिजन वन कार्यालय नवलपुर, मध्यवर्ती क्षेत्र र स्थानीय सरकारसँग तत्काल सुकेका रुख हटाउन माग गरेपनि माग सम्बोधन नभएको उनीहरूको गुनासो छ। जोखिम बढ्दै जाँदा ठूलो दुर्घटनाको आशंका गरिएको छ। यसै विषयमा सोही वडाका वडाध्यक्ष देवीदत्त कडेलसँग जानकारी लिँदा उनले डिभिजन वन कार्यालय नवलपुरको यसमा कुनै स्वामित्व नरहेको र मध्यवर्ती क्षेत्रले आफ्नो मातहतमा यो स्थान राखेकाले पनि यस विषयमा ठोस कदम अगाडि चाल्न शास्ती भएको बताएका छन् ।