
गैंडाकोट, असार ६ । गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पूर्वाधार विकासमा ठूलो फड्को मार्ने संकेत दिएको छ। नगर गौरव योजना, रिङरोड, सडक सञ्जाल, सिँचाइ, सम्सानघाट, वडा कार्यालय भवन, बसपार्क, अस्पतालदेखि खोला तटबन्धन र फुटसल मैदानसम्म विविध पूर्वाधार योजनालाई समेट्दै नगरले करोडौं रुपैयाँ विनियोजन गरेको छ।
नगर उपप्रमुख शान्ति कोइरालाले नगरसभामा बजेट प्रस्तुत गर्दै पूर्वाधारलाई समृद्धिको मेरुदण्डको रूपमा व्याख्या गर्नु भयो। उहाँका अनुसार नगर गौरव योजना तथा नगरस्तरीय विभिन्न आयोजना कार्यान्वयनका लागि मात्र १२ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरका सबै वडालाई सडक सञ्जालमा जोड्ने लक्ष्यसहित अघि सारिएको रिङरोड योजनालाई सफल बनाउन स्रोत सुनिश्चितताका लागि संघीय तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ। हाललाई यसको निर्माणलाई निरन्तरता दिन १ करोड ९३ लाख बजेट छुट्याइएको छ।
नगर गौरवकै रुपमा रहेको वडा नम्बर १० देखि १७ सम्म जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि निर्माण भइरहेको मेसजालीका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।
गैंडाकोट नगरको आफ्नै बसपार्क निर्माण कार्य पनि आगामी आर्थिक वर्षदेखि थालिने भएको छ। सोका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, नगरबासीको धार्मिक, सामाजिक तथा सांस्कृतिक कर्म काज सहज बनाउन एक व्यवस्थित सम्सानघाट निर्माण गर्न ४० लाख बजेट विनियोजन गरिएको छ। संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा यो आयोजनालाई अघि बढाइनेछ।
विगत वर्षदेखि निर्माण सुरु भएर अपूरा रहेका वडा कार्यालयहरू– वडा नम्बर १, २, १३ र १६ को भवन अब आगामी वर्षमा सम्पन्न गरिने भएको छ। सोका लागि २ करोड रुपैयाँ छुट्याइएको छ। यसका साथै वडा नम्बर ५, ८, १४, १७ र १८ मा नयाँ वडा कार्यालय भवन बहुवर्षीय ठेक्कामार्फत निर्माण सुरु गरिनेछ, जसमा २ करोड ५० लाख रुपैयाँ लगानी गरिनेछ।
नगरको सुरक्षा तथा बाढीजन्य जोखिम न्यूनीकरणका लागि बेल्डिया, जयश्री र झरही खोलामा तटबन्ध निर्माण गरिनेछ। यसका लागि १ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यसैगरी, वडा नम्बर ३, ४ र ८ मा निर्माण सुरु भई अधुरो रहेका फुटसल मैदान र जातीय संग्रहालयलाई सम्पन्न गर्न ३० लाख रुपैयाँ छुट्याइएको छ। नगरको पहाडी क्षेत्रमा रहेको वडा नम्बर ३ मा ढोडेनी सिँचाइ योजना सम्पन्न गर्न ४० लाख बजेट विनियोजन गरिएको छ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आगामी वर्षदेखि कोशेली घर तथा रिफ्रेसमेन्ट सेन्टर निर्माण कार्य अघि बढाइने भएको छ। साथै, सार्वजनिक जग्गाको संरक्षण र प्रवर्द्धनका लागि विशेष अभियान सञ्चालन गरिने छ, जसका लागि आवश्यक बजेट छुट्याइएको छ।
वडागत बजेट विनियोजन अन्तर्गत वडा नम्बर ३, १४ र १८ लाई ८० लाख र अन्य वडाहरुलाई ७० लाखका दरले बजेट प्रदान गरिएको छ। यसमार्फत लक्षित वर्गका कार्यक्रमहरूलाई समेत समेटिएको जनाइएको छ।
पाँच लाखभन्दा साना योजना तथा कार्यक्रमहरूलाई आगामी वर्षदेखि निरन्तर योजनाको रूपमा दायित्व सिर्जना नगर्ने नीति समेत ल्याइएको छ।
संघीय सरकारको लागत साझेदारीमा गणेशमन्दिरदेखि पश्चिमतर्फको बाटो स्तरोन्नति गर्न गैंडाकोट नगरपालिकाले ८८ लाख विनियोजन गरेको छ। यो आयोजनाका लागि कुल १ करोड ७६ लाखको ठेक्का व्यवस्थापन गरिने भएको छ। सडक मर्मत सम्भारका लागि सडक बोर्डसँग साझेदारीमा ४० लाख विनियोजन गरिएको छ।
भविष्यमा आकस्मिक आवश्यक पर्न सक्ने योजनाहरू तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले १ करोड रुपैयाँको आकस्मिक बजेट पनि छुट्याएको छ।
नगरको आन्तरिक आय संकलन र पहुँच विस्तारका लागि वडा नम्बर ७ स्थित सफल महिला समूह भवनदेखि नारायणी स्कुलसम्मको बाटो निर्माण गर्न ५० लाख विनियोजन गरिएको छ।
स्वास्थ्य पूर्वाधारमा समेत गैंडाकोटले थप लगानीको बाटो खोलेको छ। गैंडाकोट आधारभूत अस्पतालको स्तरोन्नति कार्य संघीय सरकारको लगानीमा आगामी वर्ष सुरु हुने भएको छ। सो प्रयोजनका लागि संघीय सरकारले ३ करोड रुपैयाँ विनियोजन गरिसकेको छ।
नगर प्रमुख तथा कार्यपालिकाबाट अघिल्लो वर्ष निर्णय भई अधुरा रहेका योजना तथा आयोजनाहरू सम्पन्न गर्न ५ करोड ८ लाख रुपैयाँ छुट्याइएको छ।
पूर्वाधारको बलियो आधारमा नगर समृद्धिको यात्रामा अघि बढ्ने विश्वाससहित गैंडाकोट नगरपालिकाले यो बजेटमार्फत सेवा, सुरक्षा र सुविधा तीनै पक्षमा सन्तुलन कायम गर्न खोजेको देखिन्छ।