चितवन,असार ७ । चितवनको राप्ती नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको खहरे पुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको ईभी सवारी ठोक्किँदा ठूलो दुर्घटना भएको हो।दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।
मृतकको विवरण:
१. सोमप्रसाद रुपाखेती (५५), हटिया–३, मकवानपुर
२. मैया कुमारी न्यौपाने पहाडी (५३), हेटौंडा–५, मकवानपुर
३. अन्दाजी १८/१९ वर्षीया महिला, नामथर वतन खुल्न बाँकी
४. अन्दाजी २४/२५ वर्षीया महिला, नामथर वतन खुल्न बाँकी
5. अन्दाजी २२/२३ वर्षीय पुरुष, नामथर वतन खुल्न बाँकी
6. अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला, पुरानो मेडिकल कलेजमा मृत्यु
7. अन्दाजी ३५/४० वर्षीय पुरुष, पुरानो मेडिकल कलेजमा मृत्यु
घाइतेको अवस्था:
भरतपुरको एलाईभ अस्पतालमा उपचाररत:
सक्षम थापा (१६), हेटौंडा–१३ – मध्यम चोट
सिंहबिर घलान (३२), हेटौंडा–१२ – मध्यम
विष्णु लम्साल (३१), हेटौंडा–४ – मध्यम
गंगा घलान (३४), हेटौंडा–८ – गम्भीर
पुरानो मेडिकल कलेजमा उपचाररत:
सुशीला बराल (६५), झापा – नाकमा चोट, मध्यम
उमा बराल (६७), झापा – सामान्य
वीरबहादुर जैसी (४८), कञ्चनपुर – मध्यम
सन्देश ओली (३०), रुकुम पश्चिम – सामान्य
नयाँ मेडिकल कलेजमा उपचाररत:
१० जना घाइते, सबैको अवस्था सामान्य
दुर्घटनाको अवस्था:
दुर्घटना हुँदा बस र ईभी दुबै सवारी साधन खहरेपुल नजिक डाइभर्सनमार्फत चलाइँदै थिए। ठक्करपछि सवारी साधन बाटोमै रोकिएकाले राजमार्ग अवरुद्ध भएको छ। बाटो खुलाउन क्रेन मगाइएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रमुख निरीक्षक रुपेश बिष्ट, खैरहनीबाट प्रनि प्रदीपजंग महत र टांडीबाट प्रहरी नायब उपरीक्षक रञ्जन अवाको नेतृत्वमा गरी जम्मा ४५ जनाको प्रहरी टोली परिचालन गरिएको छ।







