
गैंडाकोट, असार २१ । मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट १ र २ द्वारा महिलाहरूको सांस्कृतिक प्रतिभा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको एक महिने पञ्चेबाजा तालिम शनिबार औपचारिक रूपमा सम्पन्न भएको छ ।
समापन कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्त केशव अधिकारीको प्रमुख आतित्यता रहेको थियो। उनले सभालाई सम्बोधन गर्दै सामुदायिक वनसँगै सामाजिक-सांस्कृतिक गतिविधिमा महिलाहरूको सक्रिय सहभागिता सराहनीय रहेको बताएका छन् ।
कार्यक्रममा सहभागी १४ जना महिलाहरूले तालिमबाट सिकेको सिप समेत प्रहसन गरेका थिए । मौलाकाली सामुदायिक वनले महिलाहरूलाई सांस्कृतिक अवसरमा सहभागी गराउने तथा आत्मनिर्भर बनाउने लक्ष्य लिएको समूहका अध्यक्ष तथा कार्यक्रमका सभापति हरिप्रसाद सापकोटाले आफ्नो मन्तव्यमा बताएका छन् ।
समापन समारोहलाई वडा नम्बर १ का अध्यक्ष सुरेन्द्र राज रेग्मी, सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य कमल पराजुली, सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य खगराज सापकोटा, डिलाराम कण्डेल लगायतले आफ्नो मन्तव्य राखेका थिए। वन क्षेत्रभित्र पर्ने टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै वडा नम्बर १ बाट अम्बिका प्रसाद घिमिरे र वडा नम्बर २ बाट विष्णुप्रसाद खरालले वनले सामाजिक उत्तरदायित्व बहन गरेकोमा टोलबासीहरू खुसी रहेको मन्तव्य दिएका थिए । मौलाकाली वनको अधिकार क्षेत्र भित्र पर्ने वडा नं १ र २ मा रहेका सम्पूर्ण टोलहरूलाई रु २० हजारका दरले वातावरणीय सरसफाई लगायतका सामाजिक क्रियाकलापका लागि रकमसमेत प्रदान गरिएको थियो । सोही अवसरमा वन विकास कार्यक्रम अन्तर्गत वन परिसरमा विभिन्न बाँस लगायतका औषधिजन्य वृक्षहरू समेत रोपण गरिएको थियो ।