चितवन, असार ३२ । चितवनको भरतपुर अस्पताल परिसरमा सोमबार भएको दर्दनाक दुर्घटनामा परेकी पाँच वर्षीया बालिका अञ्जना मगरको मंगलबार मृत्यु भएको छ। अस्पताल प्राङ्गणमै खेल्ने क्रममा खुला अवस्थामा रहेको सेफ्टी ट्याङ्कीमा खसेकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।
बालिका भरतपुर महानगरपालिका–१० की अञ्जना मगर अस्पतालमै कार्यरत कर्मचारी बिकास मगरकी छोरी थिइन्। दिउँसो करिब ३:५० बजेको समयमा अस्पतालको प्राङ्गणभित्र खेलिरहेकी बालिका अचानक खुला अवस्थामा रहेको सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्। उनलाई तत्काल उद्धार गरी उपचार सुरु गरिएको भए पनि अवस्था अत्यन्त गम्भीर रहेकाले ज्यान जोगाउन नसकिएको चिकित्सकहरूले बताएका छन्। घटनापछि स्थानीय बासिन्दा, अस्पतालका कर्मचारीहरू र पीडित परिवारले अस्पताल प्रशासनको गम्भीर लापरबाहीको विरोध गरेका छन्।
“अस्पतालभित्रै खुला ट्याङ्की? यस्तो ठाउँमा सुरक्षाको न्यूनतम मापदण्ड पनि नहुनु क्रूर लापरबाही हो,” एक स्थानियले भने।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ। घटनास्थलको निरीक्षण गरिएको र आवश्यक विवरण संकलन भइरहेको जनाइएको छ।
यस घटनाले अस्पतालभित्रका संरचनात्मक कमजोरी र सुरक्षाको अभावमाथि गम्भीर प्रश्न उठाएको छ। पीडित परिवारले दोषीलाई कारबाही गर्न र यस्ता घटना नदोहरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।







