गैँडाकोट, श्रावण १२ । गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सीमा पुनः चोरीको घटना भएको छ। स्थानीय कल्पना देवकोटाको घरमा अज्ञात व्यक्तिहरूले सुनचाँदी र अन्य गरगहना चोरी गरेका छन्।
देवकोटा परिवार पारिवारिक भेटघाटको सिलसिलामा घर बाहिर रहेका बेला चोरी भएको हो। “घटना सम्बन्धी प्रारम्भिक अनुसन्धान अनुसार, चोरहरू घरको पछाडिको भेन्टिलेसनबाट प्रवेश गरेका हुनसक्ने अनुमान गरिएको छ। चोहरुले दराज फुटाएर गरगहना चोरी गरेको बताइएको छ।
चोरी भएका सामग्रीहरूमा ३ तोला सुन, छड्के र माइली तिलहरी, टप औंठी, तीन जोर चाँदीका पाउजु, चार थान चाँदीका औंठी, चाँदीका सिक्का र केहिका अन्य चाँदीका गरगहना रहेको पीडित पक्षले जनाएको छ।चोरहरूले चोरीपछि रक्सी समेत लगेर कोठाभित्रै बसेर पिएको देखिएको छ जसले उनीहरूको निर्भीकता र तयारीको स्तर देखाउँछ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धान अघि बढाएको छ। यसअघि पनि गैँडाकोट क्षेत्रमा चोरीका घटनाहरू घट्दै आएका छन्, जसले स्थानियको सुरक्षाप्रति चासो बढाएको छ।प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।







