गैंडाकोट,श्रावण १२ । भरतपुर महानगरपालिका अन्तर्गतको पुलचोकमा राखिएको सडक सूचना बोर्ड अहिले यात्रुहरूका लागि जानकारी दिनेभन्दा पनि भ्रम पैदा गर्ने माध्यम बन्दै गएको छ ।
पुलचोकको मुख्य सडकमा राखिएको उक्त बोर्डमा दुवैतर्फ बाट विभिन्न स्थानहरूतर्फको दूरी उल्लेख गरिएको देखिन्छ। तर, अधिकांश बोर्ड पुराना, मेटिएका वा बिग्रिएका छन्, जसले गर्दा ती ठाउँसम्मको सही दूरी पढ्नै नसकिने स्थिति छ। यसले भरतपुर भएर यात्रा गर्ने यात्रुहरूलाई गन्तव्यबारे मार्गदर्शन गर्नुको सट्टा गिज्याइरहेको अनुभूति दिलाउँछ।
“स्मार्ट सिटी भनिन्छ तर यत्रो बोर्डको हालत हेर्दा त सामान्य व्यवस्थापनमै चुकेको देखिन्छ,” एक स्थानीयले भने। सहरको सौन्दर्यीकरण र सूचना पहुँच दुवैमा असर पार्ने यस्ता बोर्डहरूको नियमित मर्मत र सरसफाइ हुनु आवश्यक हुन्छ।
र त प्रश्न उठेको छ यस्तो सूचना बोर्डको मर्मत, व्यवस्थापन र अद्यावधिक गर्ने जिम्मेवारी कसको हो ? के यो सडक विभागको हो, कि भरतपुर महानगरपालिकाको ? स्थानीय तह र सम्बन्धित सरकारी निकायबीचको समन्वय अभावले यस्ता संरचनाहरू उपेक्षित भइरहेका छन्।
सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै, स्थानीय नागरिक र यात्रुहरूले यथाशीघ्र यसप्रति गम्भीर ध्यान दिनुपर्ने माग गरिरहेका छन्। स्मार्ट सिटीको दावी गर्दै जनताको करबाट संकलित बजेट खर्च गर्ने निकायहरूले यस्ता सानातिना तर अत्यन्त महत्वपूर्ण पक्षलाई बेवास्ता गर्नु उपयुक्त होइन।







