नेवा: देय दवु गैंडाकोटले गर्यो विद्यार्थी सम्मान कार्यक्रम 

गैंडाकोट, भाद्र ३ । नेवा: देय दवु गैंडाकोट नगर समितिले आफ्ना सदस्य परिवारभित्रका विद्यार्थीहरूलाई सम्मान तथा आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिने उद्देश्यले आइतबार विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ। प्रतिनिधि सभा सदस्य अन्जनी श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बागमती प्रदेशका पूर्व उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठ, गण्डकी प्रदेश सदस्य कृष्णकुमार श्रेष्ठ, नेवा: देय दवु केन्द्रीय सदस्य शर्मिला श्रेष्ठ, नेवा: मिसा दवु गैंडाकोट नगर अध्यक्ष सीता श्रेष्ठलगायत विशेष अतिथि रहेका थिए।

 

कार्यक्रममा २०८१ सालमा एसइइ (SEE) परीक्षा दिएका २० जना विद्यार्थी र कक्षा १२ उत्तीर्ण ११ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै, नेवा: देय दवुलाई विभिन्न क्षेत्रमा रहेर सहयोग गर्ने संघसंस्थाहरूलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो।

 

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अन्जनी श्रेष्ठले शिक्षा नै जीवनको आधार र उज्यालो भविष्यको ढोका भएको बताइन्। उनले विद्यार्थीहरूलाई मात्र नभई आम अभिभावक र समाजलाई पनि शिक्षाको महत्वबारे सचेत हुन जरुरी छ। नेवा: देय दवुले गरेका यस्ता क्रियाकलापले विद्यार्थीलाई अझै प्रेरणा मिल्ने र आगामी पुस्तालाई यस्ता कार्यक्रम उदाहरणीय बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

 

त्यसैगरी, नेवा: देय दवु गैंडाकोट नगर समिति अध्यक्ष एवं कार्यक्रमका सभापति शिवजंग श्रेष्ठले उत्कृष्ट विद्यार्थीहरूको मेहनत र लगनलाई कदर गर्दै संस्थाले निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउँदै श्रेष्ठले विद्यार्थी हाम्रो भविष्य हुन्, उनीहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले यसरी वार्षिक रुपमा कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउन समिति सँधै प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गरे ।

 

उपाध्यक्ष रोशनी श्रेष्ठले स्वागत मन्तव्य दिएको कार्यक्रम सोही संस्थाकी सदस्य शर्मिला श्रेष्ठको सहजीकरणमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको