गैडाकोट, भाद्र ६ । श्री जनजागृति आधारभूत विद्यालय गैँडाकोट-३ मा विद्यालय सुधारमा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगर शिक्षा अधिकृत रामप्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए । शिक्षक-अभिभावक संघका अध्यक्ष पदम थापाको सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालयका प्रधानाध्यापक मदन भट्टराईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा शिक्षक पुनाराम गन्द्रमाले सहजीकरण गरेका थिए ।
प्रमुख अतिथि अधिकारीले साना विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा कार्यालय सधैं सहयोग गर्न तयार रहेको स्पष्ट पारे । त्यस्तै वडा सदस्य द्वय गोपाल थापा र सुमन थापाले विद्यालय विकासमा वडा निरन्तर साथमा रहेको प्रतिबद्धता सहितको मन्तव्यमा राखे।
दुराडाँडा सामुदायिक वनका अध्यक्ष मनोज थापाले नर्सरी कक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिँदै विद्यालय सुधारका कार्यक्रममा सामुदायिक वनले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत राखे ।
कार्यक्रममा ओम थापा, खेम पुलामी, शिक्षक ममता राना, टीका डाँगी, गुनिमाया गन्द्रमा, कर्मचारी कर्णबहादुर थापा लगायतले विद्यालय सुधारमा आफ्नो योगदान दिने प्रतिबद्धता प्रकट गरेका छन् । विद्यालयले हाल अतिरिक्त अंग्रेजी र गणित विषय अध्यापन सुरु गरेकोमा अभिभावकहरूले प्रसन्नता जनाएका छन्।








