गैंडाकोट, भाद्र ६ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विभिन्न माग राख्दै देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत आज गैंडाकोट नगर क्षेत्रमा पनि विरोध प्रदर्शन गरेको छ।
गैंडाकोट नगर प्याब्सनको आयोजनामा ८० भन्दा बढी विद्यालय बसहरू सहभागी गराई नगर परिक्रमा गरिएको थियो। बसहरूमा विरोधका नारा लेखिएका ब्यानर टाँगिएका थिए। प्याब्सनले १५ प्रतिशत छात्रवृत्ति खारेज गरी १० प्रतिशत मात्र कायम गर्नुपर्ने, कम्पनीलाई गैरनाफामूलक संस्था बनाउने प्रावधान खारेज गर्नुपर्ने लगायतका माग अघि सारेको छ।
आन्दोलनका क्रममा गैंडाकोटका विभिन्न सडक परिक्रमा गर्दै निजी विद्यालयका शिक्षक, सञ्चालक र कर्मचारीहरूले सरकारलाई चाँडै माग सम्बोधन गर्न आग्रह गरेका थिए। प्याब्सनले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनलाई अझ कडा बनाइने चेतावनी पनि दिएको छ।








