चितवन, भाद्र १५ । लेखक कमल अर्यालको नयाँ कृति ‘सिलायात्रा’ सार्वजनिक गरिएको छ। चितवनका ऐतिहासिक तथा धार्मिक क्षेत्रबारे अनुसन्धान गरेर तयार पारिएका ११ वटा लेख समावेश गरिएको कृतिमा तथ्य, इतिहास र भावनाको सिला खोजिएको लेखक अर्यालले जानकारी दिए।
उनका अनुसार पुस्तकमा विशेषगरी चितवनको पूर्वी क्षेत्रका ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेका स्थलहरूको अध्ययन सामग्री समेटिएको छ। रत्ननगर वाङ्मय प्रतिष्ठान र वाल्मीकि साहित्य सदनको संयुक्त आयोजनामा भएको कार्यक्रममा वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे, प्रमुख अतिथि वरिष्ठ साहित्यकार केदारनाथ खनाल, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, समीक्षक कपिल अज्ञात र साहित्यकार उदय अधिकारीले एकैसाथ पुस्तक विमोचन गरे।
समीक्षक कपिल अज्ञातले *‘सिलायात्रा’*लाई खोजमूलक कृति भन्दै अर्यालको गद्य लेखन सशक्त रहेको टिप्पणी गरे। उनका अनुसार, अनुसन्धानमार्फत चितवनका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सामग्री संकलन गर्नु लेखकको साहित्यिक यात्राको विशेषता बनेको छ।
कार्यक्रममा साहित्यकार तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए भने उदय अधिकारी, डा. चेतराज रेग्मी लगायतले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे। सो अवसरमा जगन्नाथ पण्डित, रामेश्वर रिजाल र टिएन अर्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कवि तथा गजलकार राजेन्द्र घायल, यमुना अधिकारी न्यौपाने, समिता पौडेल न्यौपाने, प्रेम कँडेल र अशोक भुसाललगायतले रचना वाचन गरेका थिए।







