गैँडाकोट, भाद्र १६। तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट सरुवा भई गैँडाकोट नगरपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेलाई सोमबार औपचारिक रुपमा स्वागत गरिएको छ।
नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा मेयर मदनभक्त अधिकारी र उपमेयर शान्ति कोइरालाले ढाकाटोपी, अविर र खादा ओडाएर लामगादेलाई स्वागत गरे।
स्वागत मन्तव्यमा मेयर अधिकारीले लामगादेलाई सहज ढंगले काम गर्न सक्ने वातावरण नगरपालिका नेतृत्वले सुनिश्चित गर्ने बताए। “गैँडाकोटमा ढुक्कसाथ काम गर्नुहोस्। जनप्रतिनिधि र कर्मचारीहरूसँगको समन्वयमा तपाईंको अनुभवले नगरपालिकालाई महत्वपूर्ण लाभ पुर्याउनेछ,” उनले भने।
त्यस्तै, उपमेयर कोइरालाले प्रमुख प्रशासकीय अधिकृतको भूमिकालाई निर्णायक ठहर गर्दै भनिन्, “गैँडाकोटलाई नयाँ उचाइमा पुर्याउने हाम्रो लक्ष्य छ। त्यसमा प्रमुख प्रशासकीय अधिकृतको योगदान अत्यन्तै महत्वपूर्ण रहनेछ भन्ने विश्वास लिएकी छु।”
कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रमुख प्रशासकीय अधिकृत लामगादेले गैँडाकोटमा काम गर्ने अवसरलाई चुनौती र अवसर दुवै भएको बताए। “यो सरुवा मेरो मात्र लागि नभई नगरपालिकाकै लागि अवसर हो। कर्मचारीहरूको सहयोगमा गैँडाकोटलाई उत्कृष्ट बनाउन प्रयास गर्नेछु। असार विकास रोक्ने होइन, समयमै व्यवस्थित कार्ययोजना बनाएर अघि बढ्छौँ,” उनले भने।







