नवलपुर, भाद्र २६ । जेनजेड युवाहरूको आह्वानमा भदौ २३ गते भएको ऐतिहासिक प्रदर्शनपछि उत्पन्न परिस्थिति र त्यसपछि भएका आगजनी घटनालाई लिएर नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) नवलपुरले संयुक्त अपील जारी गरेका छन्।
अपीलमार्फत दलहरूले जेनजेड युवाको नेतृत्वमा भएको प्रदर्शनलाई ऐतिहासिक भन्दै त्यसको उद्देश्य र भावना प्रति ऐक्यबद्धता जनाएका छन्। तर, त्यस क्रममा नगरपालिकाको भवनसहित सार्वजनिक सम्पत्ति जलाउने, तोडफोड गर्ने जस्ता गतिविधिले आन्दोलनको मूल लक्ष्य कमजोर भएको भन्दै दुःख प्रकट गरिएको छ।
अपीलमा भनिएको छ, “जेनजेडको उद्देश्य स्पष्ट थियो— सुशासन र पारदर्शितासहितको राजनीतिको माग। तर पछिल्ला घटनाले त्यसलाई गलत सन्देश जाने खतरा बढेको छ।”
दलहरूले राजनीतिक प्रतिद्वन्द्विताभन्दा माथि उठेर एकता, सहकार्य र संयमित ढंगले अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। साथै, सार्वजनिक सम्पत्तिको सुरक्षा, शान्तिपूर्ण राजनीतिक वातावरणको रक्षा र नागरिक जीवन सहज बनाउन सम्पूर्ण पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
“राजनीतिक शुद्धताको अभावमा देश संकटतर्फ धकेलिँदै छ। यस्तो अवस्थामा जिम्मेवार दलहरूले आपसी संवाद, सहकार्य र समस्या समाधानको बाटो रोज्नैपर्छ,” अपीलमा उल्लेख छ।
संयुक्त अपीलमा देशको वर्तमान अवस्थालाई सम्बोधन गर्दै दलहरूले संवैधानिक व्यवस्था, शान्ति, मानव अधिकार, सामाजिक सद्भाव र राष्ट्रिय एकताको रक्षा गर्न सबै राजनीतिक दल, नागरिक समाज र युवाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
अपीलमा हस्ताक्षर गर्नेहरूमा नेपाली कांग्रेस नवलपुरका जिल्ला उपसभापति बालकृष्ण भिमिराल, नेकपा (एमाले) नवलपुरका जिल्ला समिति सचिव निमलाल ढकाल र नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष मदन गिरी रहेका छन्।








