तोडफोड र आगजनीको घटनापछि प्रमुख दुई दलको संयुक्त अपील

गैंडाकोट, भदौ २६ । जेनजेड समूहद्वारा सुरु गरिएको भ्रष्टाचार विरोधी आन्दोलनप्रति समर्थन जनाउँदै नेपाली कांग्रेस नगर कार्यसमिति र नेकपा (एमाले) गैडाकोट नगर पालिका कमिटीले संयुक्त अपील सार्वजनिक गरेका छन्।

 

भदौ २४ गते गैंडाकोट नगरपालिकासहित विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएपछि जारी गरिएको अपीलमा आन्दोलनलाई शान्तिपूर्ण र जिम्मेवार ढंगले अघि बढाउन आग्रह गरिएको छ। अपीलमा जनजीविकासँग जोडिएका कार्यालय, पार्टी कार्यलय तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको घटनाबारे गम्भीर ध्यानाकर्षण गराइएको छ।

 

अपीलमा भनिएको छ, आन्दोलनका क्रममा भएका अवाञ्छित घटनाबाट प्राप्त उपलब्धिहरू समेत गुम्ने खतरा देखिएको छ। आन्दोलन शान्तिपूर्ण ढंगले सञ्चालन गर्न सबै पक्ष जिम्मेवार बन्न जरुरी छ।

 

दुई दलका स्थानीय प्रतिनिधिहरूले घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै संविधान, लोकतन्त्र, मानवअधिकार र सुशासनलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताएका छन्। साथै, आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी घटनाले मुलुकको संवैधानिक र कानुनी व्यवस्थामाथि आघात पु¥याएको भन्दै चिन्ता प्रकट गरिएको छ।

 

अपीलपत्रमा हस्ताक्षर गर्नेमा नेपाली कांग्रेस नगरकार्य समितिका सभापति बद्री सापकोटा र नेकपा (एमाले) गैडाकोट नगरपालिका कमिटी सचिव राजु भुसाल रहेका छन्।

 

संयुक्त अपीलमार्फत जनतालाई संविधानको रक्षार्थ जुट्न सम्पूर्ण नगरवासीलाई आह्वान गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको