गैंडाकोट, भाद्र २७ । जिल्ला प्रशासन कार्यालय नवलपुरले मंगलबार बिहान ७ बजेदेखि लागू हुँदै आएको निषेधाज्ञा हटाएको छ। प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जारी गरेको सूचनामा नवलपुर जिल्लाभित्र अब नियमित गतिविधि सञ्चालन गर्न सकिने उल्लेख छ।
निषेधाज्ञा हटाइए पनि सुरक्षासम्बन्धी कारण देखाउँदै पाँचजनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा भएर सभा, जुलुस, प्रदर्शन वा धर्ना गर्न भने रोक कायम राखिएको छ। जिल्ला प्रशासन कार्यालयले त्यस्तो गतिविधि गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
प्रशासनले पछिल्ला दिनमा नवलपुर जिल्लामा बढ्दो भीडभाड र सुरक्षा व्यवस्थालाई दृष्टिगत गरी केही दिनअघि निषेधाज्ञा जारी गरेको थियो। मंगलबारदेखि निषेधाज्ञा फिर्ता लिएसँगै नवलपुर जिल्लाको जनजीवन सामान्यतर्फ फर्किने अपेक्षा गरिएको छ।








