बुद्धिसागर पण्डित पुनः जनक नमुना मा.वि.को प्रधानाध्यापक नियुक्त

गैँडाकोट, असोज १ । गैँडाकोटस्थित ऐतिहासिक तथा जेठो शैक्षिक संस्था जनक नमुना माध्यमिक विद्यालयमा विज्ञान विषयका कुशल शिक्षक बुद्धिसागर पण्डित पुनः प्रधानाध्यापकमा नियुक्त भएका छन्। विद्यालय व्यवस्थापन समितिले असोज १ गतेदेखि लागू हुनेगरी उनलाई प्रधानाध्यापक पदको जिम्मेवारी तोकेको हो।

वि.सं. २०४५ सालदेखि शिक्षण पेशामा सक्रिय पण्डितले जनक मा.विमा अस्थायी र स्थायी गरी निरन्तर ३७ वर्षसम्म सेवा गरेका छन्। विज्ञान विषयका विज्ञका रूपमा चिनिएका उनी यसअघि पनि वि.सं. २०७३ असोज १ देखि २०७५ मंसिर २६ सम्म विद्यालयको नेतृत्वमा रहेर शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएका थिए।

शिक्षक सेवा आयोगको परीक्षामार्फत २०६० सालमा स्थायी विज्ञान शिक्षकका रूपमा नियुक्त भएका पण्डित २०७४ सालमा बढुवामा सफल भई द्वितीय श्रेणीमा पदोन्नति भएका हुन्। जनक नमुना मा.विका पूर्वविद्यार्थी समेत रहेका उनले यही विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गरेका थिए।

शैक्षिक योग्यता दृष्टिले पण्डितले अँग्रेजी साहित्य र गणितमा बी.ए., जनसंख्या तथा विज्ञानमा बी.एड., भौतिक विज्ञानमा एम.एस्सी. र अर्थशास्त्रमा एम.ए. गरेका छन्। हाल उनी भौतिक विज्ञानमा पीएचडी स्कलरसमेत रहेका छन्।

विद्यालय व्यवस्थापन समितिका अनुसार नम्र स्वभाव, कर्तव्यनिष्ठता र उत्कृष्ट नेतृत्व क्षमतासहितका पण्डितको पुनः नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार दुवै क्षेत्रमा नयाँ उचाइ लिन सक्ने विश्वास गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको