गैँडाकोट, असोज ३ । राष्ट्रिय जनमोर्चा गैँडाकोट नगरपालिकाको आयोजनामा एघारौँ संविधान दिवसको अवसरमा गैँडाकोटको कालिकाचोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दीपक पाण्डे रहेका थिए। कार्यक्रममा प्रदेश, जिल्ला र नगरस्तरीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राजमोका चन्द्र सापकोटा, शालिग्राम सापकोटा, लक्ष्मी बिक, रूपनारायण महत्तो, प्रेम सापकोटा, भीमप्रसाद आचार्य, विष्णु पाण्डे लगायत को उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाण्डेले संविधानले जनताको लामो संघर्ष र बलिदानलाई संस्थागत गर्न नसकेको र कार्यान्वयनमा समेत कमी कमजोरी देखिएको टिप्पणी गरे। उनले भने, “संविधानले आम नागरिकलाई अधिकार दिलाउने उद्देश्य बोकेको छ। तर यसको प्रावधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारले निर्वाह गर्न सकेको छैन। सामाजिक न्याय, समानता र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता अझै कमजोर छ। राष्ट्रिय जनमोर्चा संविधानलाई पूर्णरूपमा कार्यान्वयन गराउन निरन्तर आवाज उठाउनेछ।”
प्रमुख वक्ताका रूपमा रहेका राष्ट्रिय जनमोर्चाका नेता चन्द्र सापकोटाले संविधान दिवसलाई केवल उत्सवका रूपमा सीमित नगरी अधिकार र अपेक्षासँग जोडिएको दिनका रूपमा सम्झनुपर्ने बताए। उनले भने, “संविधान दिवस केवल दीप प्रज्वलन गर्ने दिन होइन, यो आम जनतालाई सम्झाउने दिन हो कि अधिकारका लागि लडाइँ अझै बाँकी छ। हाम्रो सङ्घीयता जनमुखी छैन यो खारेजी प्रक्रियामा जानैपर्छ, स्थानीय सरकारलाई सशक्त बनाउन नसकेसम्म संविधानको मूल मर्म पूरा हुँदैन। उनले थपे, “राजनीतिमा देखिएको निराशा र जनताको अपेक्षाबीचको खाडल कम गर्नैपर्छ। जनमोर्चा यसका लागि निरन्तर संघर्षमा छ।”
कार्यक्रममा राष्ट्रिय जनमोर्चा गैँडाकोट नगर अध्यक्ष होमनाथ पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो। नगर उपाध्यक्ष ऋषि कण्डेलले स्वागत मन्तव्य दिएको उक्त सभालाई सचिव खिलेश्वरी धितालले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।








