रक्तदानका प्रेरणास्रोत वाग्ले -“कसैको ज्यान बचाउन पाउँदा म आफैँले नयाँ जीवन पाएको महसुस गर्छु”

गैँडाकोट, असोज ३० । गैँडाकोट नगरपालिका-२ निवासी ५७ वर्षीय सन्तोष कुमार वाग्लेले हालसम्म ११९ पटक रक्तदान गर्दै मानवीय सेवाको अनुपम उदाहरण प्रस्तुत गरेका छन् । तीन दशकभन्दा बढी समयदेखि निरन्तर रक्तदान अभियानमा सक्रिय वाग्ले अहिले गैँडाकोट र आसपासका क्षेत्रमा “रक्तदाता प्रेरणाको स्रोत”का रूपमा परिचित भएका छन्।

वाग्लेले विसं २०४५ सालमा पहिलो पटक रक्तदान गरेका थिए । सुरुमा साथीहरूको प्रेरणाले अभियानमा सहभागिता जनाएका उनले अहिले चिकित्सकको सल्लाह अनुसार हरेक तीन-तीन महिनामा नियमित रक्तदान गर्दै आएका छन् उनले भन्छन “कसैको ज्यान बचाउन पाउँदा म आफैँले नयाँ जीवन पाएको जस्तो महसुस हुन्छ, रगत दिनु नै सबैभन्दा ठूलो दान हो भन्ने अनुभूति मलाई हरेक पटक हुन्छ।”

विभिन्न अस्पतालमा रगतको अभावमा छटपटाइ रहेका क्यान्सरपीडित, सुत्केरी महिला र दुर्घटनाका घाइतेहरूलाई रगत दान गर्दै उनले असंख्य जीवनहरूमा नयाँ आशा भरेका छन्।
रक्तदानका क्रममा वाग्लेले स्थानीयस्तरका रक्तदान शिविरहरूमा अग्रणी भूमिका निभाउँदै आएका छन्। नेपाल रेडक्रस सोसाइटी गैँडाकोट उपशाखाका आजीवन सदस्यसमेत रहेका उनले रेडक्रसले आयोजना गर्ने अधिकांश शिविरमा पहिलो दाताका रूपमा रक्तदान गरेर अन्यलाई  समेत रक्तदान गर्न प्रेरित गर्ने गरेका छन्। उनी भन्छन् “रगत दिंदैमा मात्र अरूको ज्यान बचिँदैन, आफ्नो शरीर पनि ताजा र स्वस्थ रहन्छ।” पछिल्लो समय समाजमा रक्तदानप्रतिको चेतना बढ्दै गएकोमा वाग्ले लाई खुसी लागेको छ। “अहिले युवाहरू पनि यस अभियानमा उत्साहपूर्वक सहभागी हुन थालेकोमा खुसी व्यक्त गर्दै समाजमा देखिएको सकारात्मक परिवर्तनले अकालमा रगत नपाएर ज्यान गुमाउनेको सङ्ख्या निम्न हुनेमा आफू विश्वस्त रहेको बताउँछन्” वाग्लेजस्ता मानवीय संवेदना र सेवा भावले ओतप्रोत व्यक्ति समाजका लागि आशा, करुणा र मानवताका सन्देशवाहकका रूपमा पछिल्लो समय स्थापित भइरहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको