भरतपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु एक घाइते

गैंडाकोट, कार्तिक ६ । चितवनको भरतपुर महानगरपालिका–१२ गोन्द्राङस्थित सडक खण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा गैंडाकोटमा बस्दै आएका एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

 

 

आज बिहान करिब ४:१५ बजे टाँडीबाट गोन्द्राङतर्फ जाँदै गरेको ग–१०–प ६१२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक बीचको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

दुर्घटनामा मोटरसाइकल चालक नवलपुर गैंडाकोट नगरपालिका–१ का २६ वर्षीय केशव घर्ती मगर मध्यम घाइते भएका छन्। उहाँको उपचार भरतपुरस्थित नयाँ मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ।

 

 

त्यस्तै मोटरसाइकलमा पछाडि सवार तनहुँ देवघाट गाउँपालिका–२ घर भई हाल नवलपुर गैंडाकोट नगरपालिका–१ मा बसोबास गर्दै आएका ४४ वर्षीय टंक प्रसाद थापा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा बिहान करिब ४:४४ बजे नयाँ मेडिकल कलेजमा उहाँको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

 

दुर्घटनापछि गोन्द्राङ प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको