गैंडाकोट, कात्तिक १२। नवलपरासी (पूर्व) गैंडाकोटमा स्कुटरले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएकी छिन्। आज बिहान करिब ९ः४० बजेको समयमा गैंडाकोट नगरपालिका-२ न्यायचोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रदेश ३-०३-००२ प ३७०३ नम्बरको स्कुटरले ठक्कर दिँदा गैंडाकोट-२ बस्ने २७ वर्षीया सृष्टि सुनार घाइते भएकी हुन्। घाइते सुनारलाई प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज, चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जानकारी दिएको छ।
दुर्घटनामा स्कुटर चालक गैंडाकोट-९ बस्ने ३२ वर्षीय पदम रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चालक रानाभाटले चलाएको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमा रहेका स्थानीयवासीले सहयोग गरी घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएका थिए।
घाइते सुनारको टाउकोमा चोट लागेको र उनको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।







