नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कात्तिक १३ । जिल्लाको देवचुली नगरपालिका-२ हमालचोकस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक साईकल यात्री गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ करिब ७ः३० बजे काठमाडौँबाट पाल्पा तर्फ जाँदै गरेको लु १ झ ३७८ नम्बरको स्कारपियो (हाइलक्स)ले बाटो क्रस गर्दै गरेका देवचुली नगरपालिका-१ का ५३ वर्षीय यमबहादुर जि.सी.लाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टाउको र अनुहारमा गम्भीर चोट लागेका जि.सी.लाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज चितवन पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कारपियो चालक स्याङ्जा जिल्ला गल्याङ नगरपालिका-३ का ४१ वर्षीय योगराज बस्याललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।







