जनकपुरधाम, कार्तिक १६ । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन्।
विराटनगरबाट धनगढी जाँदै गरेको सुप्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो। उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए।
गणेशमान चारनाथ नगरपालिका-१ का वडाध्यक्ष श्यामकुमार आलेमगरले सबै एकै वडाका भएको बताए। उनका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।







