२० कात्तिक, काठमाडौं ।
नेकपा एमालेसँग आवद्ध युवा संघले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।
युवा संघका प्रतिनिधिहरू सोमबार साइबर ब्युरो पुगेर मेयर शाहले सामाजिक सञ्जालमा राखेको एउटा स्टाटसले राजनीतिक दलहरूलाई बदनाम गरेको आरोप लगाउँदै उजुरी दिएका हुन्।
साइबर ब्युरोका एक अधिकारीका अनुसार उजुरी हाल दर्ता प्रक्रिया मै रहेको छ। उनले जानकारी दिँदै भने — “उजुरी परेको छ, अहिले यसलाई दर्ता र प्रारम्भिक अध्ययनको चरणमा राखिएको छ।”
मेयर शाहले कात्तिक १६ गते मध्यराति सामाजिक सञ्जालमा कठोर शब्द प्रयोग सहितको स्टाटस लेखेका थिए। सो स्टाटस केही समयपछि उनको पेजबाट हटाइए पनि त्यसले राजनीतिक वृत्तमा चर्को चर्चा पाएको थियो।







