भरतपुर, कार्तिक २१ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले शुक्रबार भरतपुर–३, चितवनमा एक भव्य समारोहका बीच आफ्नो प्रशासकिय भवनको सिलान्यास गरेको छ।
सिलान्यास समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका पूर्व निर्देशक बालकृष्ण बुर्लाकोटी र विशिष्ट अतिथि एल.सि.आई.एफ. एरिया लिडर (LCIF Area Leader) राजन लम्साल रहेका थिए । डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व डिष्ट्रिक गर्भनरहरू, लायन र लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालभर हाल १५ वटा लायन्स डिष्ट्रिक क्रियाशील रहेका छन्। तीमध्ये आफ्नै प्रशासकिय भवनको सिलान्यास गर्ने डिष्ट्रिक ३२५ आर पहिलो डिष्ट्रिक बनेको छ। हाल सो डिष्ट्रिकमा १८७ वटा लायन्स क्लबमार्फत ४ हजार ४ सय १० जना लायन सदस्य आवद्ध छन्।
भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेका अनुसार भवन करिब दुई करोड रुपैयाँ लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म करिब ४५ लाख रुपैयाँ संकलन भइसकेको र बाँकी रकम पनि चाँडै संकलन हुने विश्वास उनले व्यक्त गरे। उनका अनुसार प्रति लायन सदस्य तीन हजार रुपैयाँका दरले सहयोग संकलन गर्ने निर्णय यसअघि नै गरिएको हो।
इन्जिनियर लायन उमेश ढकालले भवनको नक्सा तथा संरचना सम्बन्धी विवरण प्रस्तुत गर्दै पहिलो तला कार्यालय प्रयोजनका लागि र दोस्रो तला दुईवटा सभाहलका रूपमा निर्माण गरिने जानकारी दिए। एक कठ्ठा (२० धुर) जग्गामा निर्माण हुने उक्त भवनका लागि १० धुर जग्गा लायन सदस्यहरूले खरिद गरेका हुन् भने बाँकी १० धुर जग्गा लायन बालगोपाल चुके परिवारले दान स्वरूप उपलब्ध गराएका हुन्।
संस्थागत सुदृढीकरणमा माइलस्टोन सावित हुने अपेक्षा गरिएको उक्त प्रशासकिय भवन निर्माणका लागि प्रमुख अतिथि बुर्लाकोटी र विशिष्ट अतिथि लम्सालले ५५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरेका छन्। कार्यक्रममा विभिन्न लायन्स तथा लियो क्लबका पदाधिकारीहरूले भवन निर्माणलाई ऐतिहासिक पहलका रूपमा व्याख्या गर्दै यसले डिष्ट्रिक ३२५ आरलाई अझ सशक्त र संगठित बनाउने विश्वास व्यक्त गरे।







