नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कार्तिक २१। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका-१, कोइँलाबानीका २२ वर्षीय हुप्पे भाइ भनिने रोजन घर्तीलाई आफ्नै घरमा लागुऔषध संकलन गरी राखेको अभियोगमा पक्राउ गरिएको हो। प्रहरीले घर्तीको घरबाट Tramadol Hydrochloride Capsules IP Tramul-50 का ३९१ ट्याब्लेट, Promethazine Hydrochloride Tablets IP PROMETH-25 का २१० ट्याब्लेट, र गाँजा १४४ ग्राम बरामद गरेको जनाएको छ।
बरामद सामग्रीसहित पक्राउ परेका घर्तीमाथि जिल्ला अदालत नवलपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी उपरीक्षक (एसपी) मधु न्यौपानेले जानकारी दिए।
त्यस्तै, प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा लागुऔषध (गाँजा) कारोबारमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको छ। यस क्रममा देवचुली नगरपालिका-१२ का मन बहादुर सुनार, कावासोती-५ का थर्क बहादुर कुमाल, र कावासोती-१ का उम बहादुर कुमालमाथि पनि अदालतको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले जिल्लाभर लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको र यस सम्बन्धी सूचनाका लागि स्थानीयलाई सहयोग गर्न आग्रह गरेको छ।







