गैंडाकोट, कार्तिक २२ । गैंडाकोटमा अवस्थित कालिका नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती मनाउने तयारी पूरा गरेको छ। विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवको लोगो सार्वजनिक गर्दै कार्यक्रमको विवरण सार्वजनिक गरेको हो।

प्रधानाध्यापक होमनाथ शर्मा पौडेलका अनुसार विद्यालयले स्वर्ण जयन्तीका अवसरमा शिक्षा, स्वास्थ्य, उत्प्रेरणा, बौद्धिक तथा खेलकुद प्रतियोगितासहितका विविध कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। विद्यालयले यसअघि पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूसँग अन्तरक्रिया, पूर्व विद्यार्थी भेला र तदर्थ समिति गठन सम्पन्न गरिसकेको जनाएको छ। सोही पत्रकार सम्मेलनका अवसरमा स्वर्ण महोत्सवमा कुल अनुमानित लागत ४८ लाख भन्दा बढी लाग्ने अनुमानसहितको लागत विवरण सो अवसरमा प्रस्तुत गरिएको थियो।
संस्थापक अध्यक्ष शालिकराम सापकोटाले विद्यालयको ५० वर्षे इतिहास गौरवपूर्ण रहेको बताउँदै स्वर्ण महोत्सव सफल पार्न सम्पूर्ण सरोकारवालालाई महोत्सव सफल पार्न आग्रह गरेका छन् ।
स्वर्ण जयन्ती समारोहअन्तर्गत मंसिर महिनाभर विभिन्न गतिविधि आयोजना हुनेछन्। मुख्य कार्यक्रमहरूमा अभिभावक तथा विद्यार्थी उत्प्रेरणात्मक कार्यक्रमहरू, शोभायात्रा, हाजिरीजवाफ प्रतियोगिता, हाफ म्याराथुन, स्वास्थ्य शिविर, रक्तदान, शैक्षिक प्रदर्शन, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू रहने छन्।
मंसिर २७ गते विद्यालय परिसरमा स्वर्ण जयन्तीको मुख्य समारोह एवं स्वर्ण महोत्सवको स्तम्भ अनावरण कार्यक्रम हुनेछ भने पुस ४ गते समिक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम गरी महोत्सव समापन गरिने विद्यालयले जनाएको छ।







