गैंडाकोट मङ्सिर १ । नवलपुरको गैंडाकोट-४ कालीगण्डकीचोकमा सोमबार बिहान ५:३० बजे युनाइटेड टेक्निकल कलेज, भरतपुरको बागमती प्रदेश ०६-००१ क ०३४९ नम्बरको विद्यार्थी बोक्ने बस दुर्घटनामा परेको छ।
राष्ट्रिय गौरवको परियोजना कालीगण्डकी करिडोरको मुख्य प्रवेशस्थल महेन्द्र राजमार्गसँगैको सडकको बीचमा रहेको ठूलो खाल्टोका कारण बस अनियन्त्रित बनेको जनाइएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
स्थानीयवासी र चालकका अनुसार सडक निर्माण कम्पनी र सरकारको ढिला-सुस्ती तथा गुणस्तरहीन कामकै कारण सडक वर्षौंदेखि सुधार नहुँदा यस्तो दुर्घटना दोहोरिन थालेका छन्। उनीहरूले कालीगण्डकी करिडोरलाई राष्ट्रिय गौरवको परियोजना भनिए पनि वास्तविकतामा यसको आधारभूत संरचना नै उपेक्षित रहेको आरोप लगाएका छन्।







