गैंडाकोट, मंसिर १ । गैंडाकोट जेसीजले करिब ४० लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरेको जेसीज भवन सोमबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गरेका हुन्।
उद्घाटन समारोहमा नगरका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगाँदे, उपमेयर शान्ति कोइराला, गैंडाकोट जेसिसका संस्थापक अध्यक्ष बद्री सापकोटा, नेपाल जेसिसका कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा विशेष अतिथिका रुपमा उपस्थित भएका थिए। सो समारोहमा जेसिसका पूर्व अध्यक्षहरू, जनप्रतिनिधि, सामाजिक संघ-संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।
समारोहलाई सम्बोधन गर्दै मेयर अधिकारीले जेसीज भवनले नगरका युवाहरूको नेतृत्व विकास, समुदायप्रतिको योगदान र सामाजिक गतिविधिलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै यो भवन केवल भौतिक संरचना होइन, युवाहरूको प्रतिबद्धता, सहयोग संस्कार र भविष्यप्रतिको लगनशीलताको प्रतिफल हो,” मेयर अधिकारीले भने।
उद्घाटन समारोहमा जेसीज गैंडाकोटका अध्यक्षले भवन निर्माणमा साथ दिने सबै निकायप्रति कृतज्ञता व्यक्त गर्दै जेसिसले सामुदायिक हितका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध रहने बताए।
“हाम्रो उद्देश्य युवा सशक्तीकरण र समुदाय सेवालाई संस्थागत रूपमा अघि बढाउनु हो। यस भवनले हामीलाई योजना, तालिम, अभियान र सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्न स्थायी आधार प्रदान गरेको छ,” अध्यक्षले भने।
उनले प्रदेश सरकार, नगरपालिका, वडा कार्यालय, सामाजिक संघसंस्था तथा सदस्यहरूबाट प्राप्त सहयोग बिना यो निर्माण सम्भव नहुने बताउँदै निरन्तर सहकार्यका लागि आभार व्यक्त गरे।
कार्यक्रमका क्रममा गैंडाकोट-७ को वडा कार्यालय, गैंडाकोट नगरपालिका, गण्डकी प्रदेश सरकार तथा विभिन्न सामाजिक संघ-संस्था र जेसीज सदस्यहरूको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न गरिएको जानकारी गराइयो। कार्यक्रमको संयोजन नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष तथा संयोजक जेसी रमेश कोइरालाले गरेका थिए भने सहजीकरण गैंडाकोट जेसीजका महासचिव मदन सापकोटाले गरेका थिए।








