जयश्री वनको साधारण सभामा दिगो  व्यवस्थापनमा जोड

गैँडाकोट, मङ्सिर ६ । जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोटको २३ औँ वार्षिक साधारण सभा शनिबार समूहकै सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा सामुदायिक वन व्यवस्थापन, वातावरण संरक्षण तथा संस्थागत विकासका गतिविधि समीक्षा गरिनुका साथै आगामी योजनाबारे पनि छलफल गरिएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले “जयश्री सामुदायिक वनले स्थानीयस्तरमा दिगो विकास, रोजगारी र महिला सशक्तिकरणमा गरेको काम साँच्चिकै अनुकरणीय छ। वन संरक्षण केवल संस्थाको दायित्व मात्र होइन, यो हाम्रो पुस्ताको जिम्मेवारी हो। नगरपालिकाबाट आवश्यक समन्वय र सहयोग निरन्तर रहनेछ।”

 

सामुदायिक वनका अध्यक्ष भिमबहादुर कुमालले “हाम्रो प्रयास सदैव दिगो वन व्यवस्थापन, समुदाय-उन्मुख विकास र विपन्न वर्गको जीवनस्तर उकास्न केन्द्रित छ। आगामी दिनमा पनि प्रशिक्षण, संरक्षण, व्यवसायिक योजना र संस्थागत सुदृढीकरणलाई अझ प्रभावकारी बनाउँदै लैजानेछौँ।”

 

 

सचिव टेकबहादुर आले मगरले वन संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा समृद्ध सामुदायिक वन निर्माणका लागि सबैको निरन्तर साथ आवश्यक रहेको उल्लेख गरे।

 

कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार टोलनाथ घिमिरे, गैँडाकोट-४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, वडा नं. १ का अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्तव्य राखेका थिए।

 

कार्यक्रममा कोषाध्यक्ष पार्वती ढकालले आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक राजेन्द्रराज घिमिरेले सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। गोविन्द घिमिरे, प्रेमराज सापकोटा, पार्वती सापकोटा, नरबहादुर थापा मगर, हरिमाया अधिकारी, कृष्णप्रसाद न्यौपाने, हर्कबहादुर भुजेललगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए। कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको