गैँडाकोट, मङ्सिर १३ । गैँडाकोटमा नेवार समुदायका बालिकाको सामूहिक ईही (बेलविवाह) सम्पन्न भएको छ। नेवा मिसा दबू गैँडाकोट नगर समितिको आयोजनामा गरिएको उक्त धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा जिल्लाभरका १७ जना बालिकाले सहभागिता जनाएका थिए।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको सुरुवात आज गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले प्रमुख अतिथिका रूपमा गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर अधिकारीले नेवार समुदायको संस्कार, संस्कृति र परम्पराले समग्र समाजलाई समृद्ध बनाएको उल्लेख गर्दै भने “संस्कृति समाजको पहिचान हो। नेवार समुदायले जगेर्ना गर्दै आएको ईही जस्तो अनोठो र महत्वपूर्ण संस्कारले समुदायको इतिहास, पहिचान र अभ्यासलाई जोगाइरहेको छ। नगरपालिकाले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर साथ दिनेछ।”
नेवार समुदायमा बालिका रजस्वला हुनुअघि ईही बेलविवाह गर्ने प्रचलन रहिआएको छ। यस कर्मपछि बालिकालाई १२ दिन गुफा राख्ने चलन पनि छ। संस्थाकी अध्यक्ष सीता श्रेष्ठका अनुसार, ईही गरिसकेकी महिलाले भविष्यमा श्रीमानको मृत्यु भए पनि रातो कपडा, चुरा पोते र सिन्दुर छोड्न नपर्ने परम्परा नेवार समुदायमा पुरानै रूपमा चलिआएको संस्कार हो।
कार्यक्रम गैंडाकोट नगरपालिका र वडा नं. २ को सह-आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाकी कोषाध्यक्ष बबिता बलामी श्रेष्ठले स्वागत मन्तव्य गरेकी थिइन् भने सचिव शर्मिला श्रेष्ठले सञ्चालन तथा सहजीकरण गरेकी थिइन्।








