ब्रेक फेल हुँदा दुई ट्रक ठोक्किँदा चालक घाइते, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालन

नवलपुर, वैशाख १७ — जिल्ला नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा बिहीबार अपराह्न सवारी दुर्घटना हुँदा एक जना चालक घाइते भएका छन्।

प्रहरीका अनुसार बुटवलबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ४८८ नम्बरको मार्बल लोड ट्रकको ब्रेक फेल भई सोही दिशाबाट अघि बढिरहेको ना ४ ख ७१५९ नम्बरको पेपर लोड ट्रकमा ठोक्किन पुगेको हो। दुर्घटनामा ४८८ नम्बरको ट्रक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१० निवासी २८ वर्षीय रोशन थारु घाइते भएका छन्।

घाइते थारुलाई तत्काल उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ। उनको दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।

दुवै सवारी साधन घटनास्थलमै रहेका छन् भने सवारी साधनमा क्षति पुगेको छ। यद्यपि, लोड गरिएको सामानमा भने कुनै क्षति नभएको जनाइएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि हाल एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।

सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको