गायिका जीवनी कुमारी कुमालको लोकदोहोरी गीत ‘पोखरा धनगढी’ सार्वजनिक

गैंडाकोट, ५ असार । गायिका जीवनी कुमारी कुमालको नयाँ लोकदोहोरी गीत ‘पोखरा धनगढी’ गैंडाकोटमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

स्थानीय पर्यटकीय स्थलहरूलाई समेटेर तयार पारिएको उक्त गीतले यस क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। गीत सार्वजनिक कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गीतका शब्द र भिडियोले गैंडाकोटलाई सुन्दर ढंगले चित्रण गरेको बताउँदै उनले यस्ता सिर्जनाले स्थानीय कला-संस्कृतिको जगेर्ना गर्नुका साथै नगरको पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुग्ने धारणा व्यक्त गरे।

‘पोखरा धनगढी…’ बोलको यस गीतको भिडियोमा गैंडाकोटको धार्मिक एवं पर्यटकीय स्थल मौलाकालिका मन्दिर, मौलाकाली केबलकार, इला होटल र नारायणी नदी किनार लगायतका क्षेत्रहरू छायांकन गरिएको छ। गीतका सर्जक एवं गायक बिन खातीले यो गीत माया-प्रेमको कथामा आधारित रहेको र यसमा गैंडाकोटको सेरोफेरोलाई शब्द र दृश्यमा बुनिएको जानकारी दिए। गीतमा बिन खाती र जीवनी कुमारी कुमालको स्वर रहेको छ भने लय तथा शब्द पनि बिन खातीकै रहेको छ। भिडियोमा आनन्द गुरुङ र चाहना रानाभाटको अभिनय रहेको छ भने यसलाई जोन राईले निर्देशन गर्नुभएको हो। त्यस्तै, सुटिङ संयोजन डिका गुरुङले र समग्र अडियो-भिडियो संयोजन बिन खातीले गरेका हुन् ।

गैंडाकोटकी स्थानीय प्रतिभा जीवनी कुमारी कुमालको यो पहिलो लोकदोहोरी एल्बम हो, जसलाई उहाँकै आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ। गामबेसी सांस्कृतिक कला केन्द्रका अध्यक्ष कमल बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको उक्त विमोचन कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष कृष्ण सापकोटाले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको