गैंडाकोट, ६ साउन । नारायणी नदीको पुलबाट फाल हानेर हुने आत्महत्याका घटना नियन्त्रण गर्न र पुलको सुरक्षा प्रवर्द्धन गर्न भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकाले संयुक्त पहल सुरु गरेका छन्। पुलमा तत्कालै सि.सि.क्यामेरा, सडक बत्ती र सुरक्षित तारजाली व्यवस्थापन गर्ने गरी दुवै पालिकाबीच सहमति भएको हो।
भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी र गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारीबीच भएको छलफलपछि पूर्वाधार निर्माणको काम तत्काल सुरु गर्ने र त्यसको लागत दुवै पालिकाले व्यहोर्ने सहमति भएको गैंडाकोट वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए।
पुलको दुवैतर्फ तारजाली, सडक बत्ती र उच्च प्रविधिको सि.सि.क्यामेरा जडान गरिएपछि दिनहुँजसो हुने आत्महत्याका दुखद घटनामा उल्लेख्य कमी आउने विश्वास लिइएको छ।
छलफलका क्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी र गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारीले नारायणी पुल दुवै पालिकाको साझा पहिचान र संवेदनशील क्षेत्र भएकाले नागरिकको जीवन रक्षाका लागि संयुक्त कदम चालिएको बताएका छन्। उनीहरूले भने नारायणी पुलबाट नदीमा हाम फालेर हुने आत्महत्याका घटना गम्भीर चिन्ताको विषय बनेका छन्। नागरिकको अमूल्य जीवन बचाउनु र पुललाई सुरक्षित बनाउनु हामी दुवै पालिकाको प्राथमिक दायित्व हो। त्यसैले ढिलाइ नगरी तत्कालै तारजाली, सीसीक्यामेरा र प्रकाशको व्यवस्था गर्न आवश्यक बजेट साझेदारी गरेर काम अघि बढाउने सहमति गरेका छौँ।







