गैँडाकोट, भाद्र २३ । नेपाली कांग्रेस गैँडाकोट नगर समितिका सचिव गोविन्द घिमिरेले पार्टीको आगामी १५ औँ महाधिवेशनमा नगर सभापति पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र चलायमान बनाउँदै कार्यकर्ताको भावना र सुझावलाई प्राथमिकता दिएर अघि बढ्ने उद्देश्यका साथ नगर सभापतिमा दाबी प्रस्तुत गरेको घिमिरेले बताएका छन्। पार्टीभित्रको संगठनात्मक एकता, कार्यकर्ताको सम्मान र सक्रिय सहभागिताका साथै जनतासँगको सम्बन्धलाई मजबुत बनाउने उनको लक्ष्य छ। कांग्रेसलाई स्थानीय तहमा अझ प्रभावकारी र जनमुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अग्रज नेता, क्रियाशील सदस्य, शुभेच्छुक तथा युवा पुस्ताको सहयोग लिएर अघि बढ्ने उनले स्पष्ट पारेका छन्।
व्यक्तिगत आकांक्षाभन्दा पार्टी संगठनको सुदृढीकरण र आगामी राजनीतिक यात्रालाई सशक्त बनाउनु आफ्नो मुख्य प्राथमिकता रहेको घिमिरेको भनाइ छ। घिमिरेको उम्मेदवारी घोषणासँगै गैँडाकोट कांग्रेसभित्र आगामी नेतृत्व चयनलाई लिएर राजनीतिक गतिविधि र आन्तरिक छलफल तीव्र बनेको छ।







