गैंडाकोट, २५ भाद्र । एम्स एब्रोड एजुकेसन, गैंडाकोटले नारायणी सामुदायिक वन उपभोक्ता समूहलाई एक विशेष समारोहका बिच सम्मान गरेको छ। बिहिबार आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा संस्थाले सामुदायिक वनको सम्पूर्ण टिमलाई खादा र सम्मानपत्र प्रदान गरी सम्मान गरेको हो।
नारायणी सामुदायिक वनले हालै प्रतिष्ठित ‘गणेशमान सिंह राष्ट्रिय पुरस्कार’ प्राप्त गरी गैंडाकोटको नाम देशभर फैलाउन सफल भएकाले उक्त योगदानको कदर गर्दै सम्मान गरिएको एम्स एब्रोड एजुकेसनका प्रबन्ध निर्देशक कृष्ण कंडेलले जानकारी गराए।
कार्यक्रमका प्रमुख अतिथि एवम् गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहरूमा विदेश जाने लहर चलेको प्रति ध्यानाकर्षण गराए। सम्भव भएसम्म स्वदेशमै अध्ययन गरी देशका लागि योगदान दिनुपर्नेमा जोड दिँदै उनले वैदेशिक अध्ययनमा जानै पर्ने अवस्था आएमा आधिकारिक संस्थाबाट मात्रै परामर्श लिन सुझाव दिए। साथै, विदेशमा सिकेको सीप र ज्ञानलाई पछि नेपालमै फर्केर प्रयोग गर्नसमेत उनले विद्यार्थीहरूलाई आग्रह गरे।

सम्मान ग्रहणपछि नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटाले आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे। राम्रा कामको यसरी प्रशंसा र कदर हुँदा आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्ने ऊर्जा मिल्ने विचार उनले व्यक्त गरे।
उक्त समारोहमा जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका उद्योग तर्फका उपाध्यक्ष दिपक भट्टराई तथा अंकुरम एकेडेमीका प्रिन्सिपल सुमन पौडेललाई समेत सम्मान गरिएको थियो।
गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका प्रथम उपाध्यक्ष एवम् पूर्व जनप्रतिनिधि नवराज कंडेलको विशेष आतिथ्यता रहेको थियो।







