गैंडाकोट, २७ भदौ । कवि विष्णु पन्थी ‘विनु’ द्वारा रचित नयाँ कवितासङ्ग्रह ‘जेन्जीकी आमा’ शनिबार गैंडाकोटमा आयोजित एक विशेष कार्यक्रमका बिच विमोचन गरिएको छ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित उक्त कृतिको गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, प्रा.डा. चूडामणि बन्धु, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनाल र प्रा.डा. गणेशप्रसाद खराललगायतका अतिथिहरूले संयुक्त रूपमा विमोचन गरेका हुन् । कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै समीक्षक विपिन पाठकले सङ्ग्रहभित्र जेन्जी आन्दोलनसँगै नारी विद्रोह, नारी चेतना, सामाजिक एवं पर्यावरणीय विषयका कविताहरू समेटिएको बताए । उनका अनुसार कविताहरूले नारीको सङ्घर्ष, संवेदना र इमानदारीलाई सशक्त ढङ्गले उजागर गरेका छन्। त्यस्तै अर्की समीक्षक रञ्जना लामिछानेले सङ्ग्रहमा ५५ वटा कविता समावेश रहेको र जसमध्ये करिब एकतिहाइ शीर्षक आमासँग सम्बन्धित रहेको जानकारी दिँदै आमाको सामीप्यबाट सन्तानले पाउने सुरक्षा र आत्मीयता दर्शाएको उल्लेख गर्दै उहाँले भाषिक पक्षमा थप सुधार र सासू-बुहारीको सम्बन्धलाई आमा-छोरीको दृष्टिकोणबाट प्रस्तुत गर्नुपर्ने सुझाव समेत दिइन् ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनाल र समालोचक उदय अधिकारीले शुभकामना व्यक्त गरेका थिए।कवि मुना धनञ्जयले सङ्ग्रहबाट एक कविता वाचन गरेको कार्यक्रममा कविका श्रीमान् तिलक पन्थीले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए। कवि पन्थीको यसअघि ‘भेटी’ नामक लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ।








