गैंडाकोट नगर इसाई समाजको अध्यक्षमा पुनः पास्टर निर्दोष गिरी चयन

गैंडाकोट, २८ भदौ । गैंडाकोट नगर इसाई समाजको १०औँ वार्षिकोत्सव तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः पास्टर निर्दोष गिरी सर्वसम्मत रूपमा चयन भएका छन्। ‘दाजुभाइ एकतामा रहनु कति असल र मनोहर हुन्छ’ भन्ने मूल नाराका साथ शनिबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा सम्पन्न अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

 

नवनिर्वाचित समितिको उपाध्यक्षमा रामु सापकोटा, सचिवमा चेतन दर्लामी मगर, सहसचिवमा अमृत राना र कोषाध्यक्षमा प्रेम पौडेल रहेका छन्। यसैगरी सदस्यहरूमा मंगलप्रकाश श्रेष्ठ, यदुलाल लोहनी, शारदा रसाइली, सुरेश परियार, कौशिला विक र खेम पंगेनी निर्वाचित भएका छन्। गैंडाकोट नगरपालिका-२ का वडाध्यक्ष प्रकाश सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी तथा युवा नेताद्वय गोकुल सापकोटा र सुमन लुङ्गेली विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले राज्यले सबै धर्म र आस्था मान्ने नागरिकहरूप्रति समान व्यवहार गर्नुपर्ने र आफ्नो दायित्व जिम्मेवारीपूर्वक निभाउनुपर्नेमा जोड दिए। त्यसैगरी विशिष्ट अतिथि गोकुल सापकोटाले धार्मिक द्वन्द्वले समाजमा अस्थिरता र विकृति निम्त्याउने भएकाले आपसमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नुपर्ने बताए।

कार्यक्रमका प्रमुख वक्ता पास्टर नवराज गिरीले समाजलाई सही दिशा र असल मार्गमा डोर्‍याउन सबल अगुवाइको आवश्यकता पर्ने धारणा राखेका थिए। पास्टर सतल लामाको प्रारम्भिक प्रार्थनाबाट सुरु भएको सो औपचारिक अधिवेशन नवनिर्वाचित अध्यक्ष पास्टर निर्दोष गिरीको धन्यवाद ज्ञापन तथा समापन प्रार्थनासँगै सम्पन्न भएको थियो।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको