काठमाडौँ, असोज ०१। नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तत्काल राहत प्याकेज घोषणा गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
हालै आएको विनाशकारी बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुग्नुका साथै थुप्रै कर्मचारी र कामदारहरू बेपत्ता भएका छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको जनाइएको छ।
प्राधिकरण सञ्चालक समितिका सदस्य अंशुकिरण शाहीका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य, कुल धर्मअनुसारको सामाजिक संस्कार तथा दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले राहत उपलब्ध गराउन लागिएको हो।
सञ्चालक समितिले गरेको राहतसम्बन्धी दुई मुख्य निर्णय:
• तत्काल राहत सहायता: बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले तत्काल राहत रकम उपलब्ध गराइने।
• ६ महिनासम्म ५० प्रतिशत तलब: स्थायी कर्मचारीको क्षतिपूर्ति वा थप रकमका सम्बन्धमा अर्को व्यवस्था नभएसम्मका लागि भदौ महिनादेखि लागू हुने गरी बढीमा ६ महिनासम्म सम्बन्धित कर्मचारीको तह अनुसारको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह भत्ताका रूपमा प्रदान गरिने।
बैठकलाई सम्बोधन गर्दै ऊर्जा मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी र कामदारका परिवारको दायित्व सरकारको भएको बताए। “हामी एउटै परिवार हौँ। यो रकमले यति ठूलो दुःखको घाउ पूर्ण रूपमा त निको पार्दैन, तर संकटको यस घडीमा केही हदसम्म मल्हम लगाउने काम गरोस् भन्ने हाम्रो प्रयास हो,” उनले भने।







