गैंडाकोट, असोज १ । राष्ट्रिय विज्ञान दिवसका अवसरमा नवलपुरको गैंडाकोट इङ्लिस स्कुलद्वारा आयोजित ‘अन्तरविद्यालय जि.इ.एस. विज्ञान प्रतिस्पर्धा २०८३’ भव्यताका साथ सम्पन्न भएको छ।
चितवन र नवलपुर जिल्लाका कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा १८ वटा विद्यालयका ७४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कडा प्रतिस्पर्धाबिच स्काईराइडर माध्यमिक विद्यालयका विद्यार्थी आदित्य झा प्रथम हुन सफल भएका छन्। त्यसैगरी अरोमा स्कुल, भरतपुरका सुशंकेत पौडेल द्वितीय, आयोजक गैंडाकोट इङ्लिस स्कुलका पियुश लम्साल तृतीय र अरोमा स्कुलकै सरोज पौडेलले सान्त्वना स्थान हासिल गरेका छन्।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट सहभागीहरूलाई आयोजक गैंडाकोट इङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो। पुरस्कार स्वरूप प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई क्रमशः नगद रु. १२,०००, रु. ८,०००, रु. ५,००० र रु. ३,००० साथै प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सहभागी अन्य सम्पूर्ण विद्यार्थीहरूलाई पनि प्रोत्साहनस्वरूप सहभागिताको प्रमाणपत्र प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ।







