इच्छाकामना । चितवन जिल्लाकै ऐतिहासिक गन्तव्यका रुपमा परिचित इच्छाकामना मन्दिरको पुनर्निमाण कार्य अलपत्र परेको छ । आर्थिक अभावका कारण मन्दिर पुनर्निर्माणले गति लिन नसकेको हो । काम थालेको दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ साउनमा सुरू भएको काम आर्थिक अभावका कारण विगत एघार महिनादेखि रोकिएको इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । बजेट अभावसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिमसँगै भएको बन्दाबन्दीले पुनर्निर्माणमा झनै मलजल थपिएको उनले बताए । इच्छाकामना गाउँपालिकाको वडा नं–५ मा पर्ने मन्दिरको पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारबाट प्राप्त ५० लाख रूपैयाँ सहयोगबाट काम थालेको पुनर्निर्माणमा इच्छाकामना गाउँपालिकाबाट पनि २९ लाख रूपैयाँ सहयोग भएको थियो।
प्रदेश र स्थानीय सरकारको आर्थिक सहयोगसँगै स्थानीयको श्रमदानसहित करिब एक करोड रूपैयाँबराबरको काम भएको उनले बताए । उनका अनुसार पुनर्निर्माण सम्पन्न गर्न कम्तीमा पनि तीन करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । तर, बजेट नै नहुँदा समयमै काम सम्पन्न हुने अवस्था छैन । ‘अहिलेसम्म जनश्रम, स्थानीय सरकार र प्रदेश सरकारबाट आएको सहयोगसहित करिब एक करोड रूपैयाँको काम भएको छ’, उनले भने, ‘अझै करिब ६० प्रतिशत काम बाँकी छ, आर्थिक सङ्कटकै कारण काम नै रोकियो ।’ बजारबाट निर्माण सामग्री लैजाँदा ढुवानी खर्च नै बढी लाग्ने हुँदा समग्रमा लगानी बढी लाग्ने उनले बताए ।
आर्थिक अभाव भएपछि दक्ष कालिगढ ल्याउन पनि समस्या परेको उनले बताए । जिल्लाको धार्मिक तथा पर्यटकीयमध्ये एक ऐतिहासिकस्थलको रुपमा विकास हुँदै गएको मन्दिर पुग्न पृथ्वी राजमार्गको फिस्लिङबाट करिब १८ किलोमिटरको दूरीमा उत्तर लाग्नुपर्छ । मन्दिर जाने बाटो भने पिच हुने चरणमा छ । तर, बाटोको विकासले गति लिँदा मन्दिरको पुनर्निर्माणमा पनि सबैले चासो दिनुपर्ने अध्यक्ष बोहोराले बताए । चितवनको ऐतिहासिक गन्तव्य इच्छाकामना र उपरदाङगढीलाई जोड्ने गरी बाटोको काम भइरहँदा मन्दिर पुनर्निर्माणलाई पनि मह¤व दिनुपर्ने उनले बताए ।
पुनर्निर्माणको काम थालनी गरेको दुई वर्षभित्र काम सक्नुपर्ने भए पनि कोरोनाका कारण एक वर्षदेखि काम हुन नपाएपछि अझै कति समय लाग्छ भन्ने यकिन नै नभएको उनको भनाइ छ । गाउँपालिकासँग बजेटको विषयमा कुराकानी भए पनि सम्झौता हुन नसक्दा तत्काल काम सुरू गर्न नसकेको अध्यक्ष बोहोराले बताए । ऐतिहासिक धरोहर भएकोले प्रदेश र स्थानीय सरकारको सहयोगबाटमात्रै मन्दिरको विकास सम्भव नभएकोले केन्द्र सरकारले पनि यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।