शिक्षक–अभिभावकले पठन संस्कृतिको महत्त्व बुझ्नुपर्छ : श्रेष्ठ

गैंडाकोट, ३० साउन । पठन संस्कृतिले व्यावहारिक जीवनलाई प्रभावकारी बनाउने भएकाले यसको महत्त्व शिक्षक र अभिभावकले बुझ्न सके अभियान अझ प्रभावकारी हुने कार्यक्रमकी प्रमुख अतिथि गायत्री श्रेष्ठले बताउनुभएको छ ।

 

पठन संस्कृतिको विकास र प्रवर्द्धनका लागि सञ्चालन हुँदै आएको पठन संस्कृति अभियानको २१औँ शृङ्खला गैंडाकोटमा सम्पन्न भएको छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा विजय विकास स्रोत केन्द्रको तालिम हलमा कार्यक्रम गरिएको हो ।

 

प्रमुख अतिथि श्रेष्ठले आफ्नो जीवनका विभिन्न क्षणका अनुभूति सुनाउँदै शिक्षण पेशामा बिताएका समयलाई स्मरण गर्नुभयो । सम्पन्न परिवारमा हुर्किए पनि विवाहपछि आफू अनुकूलको अवस्था नहुँदा केही समय कठिन भएको उहाँले बताउनुभयो । उहाँले शिक्षणलाई पवित्र पेशाका रूपमा अवलम्बन गरेको उल्लेख गर्दै पठन संस्कृतिको विकासमा शिक्षक तथा अभिभावकको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । कार्यक्रममा अध्येता शंकर आचार्यले स्वस्थ जीवनशैली तथा आहारविहारका विषयमा चर्चा गर्नुभयो । पछिल्लो समय बिरामी भई स्वास्थ्यलाभ गर्नुभएका आचार्यले उपचारका क्रममा प्राप्त अनुभव तथा डाक्टर अरुणा उप्रेतीका लेख र पुस्तकबाट आफूले जानेका विषय प्रस्तुत गर्नुभयो ।

 

पठन संस्कृतिका अभियन्ता एवम् पुस्तक व्यवसायी लेखराम सापकोटाले विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैवेद’ माथि चर्चा गर्नुभयो । शिखा बुक्सबाट प्रकाशित उक्त सङ्ग्रहमा रहेका १४ कथाको कथासार सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा विजय एफएम १०१.६ मेगाहर्जका मेनेजर श्रीधर उपाध्यायले ‘जिज्ञासा’ शीर्षकको कविता प्रस्तुत गर्नुभयो । गैंडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले छन्दोबद्ध कविता तथा कवि विष्णु पन्थीले ‘जङ्गे पिल्लर’ शीर्षकको कविता वाचन गर्नुभयो ।

 

विजय विकास स्रोत केन्द्रका संस्थापक खेमराज सापकोटाले कार्यक्रमको समग्र टिप्पणी राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण त्रिलोचन सापकोटाले गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको