गैंडाकोट, ५ भदौ । गैंडाकोट नगरपालिका-५ को नयाँ वडा कार्यालय भवन निर्माणको शुक्रबार शिलान्यास गरिएको छ। गैंडाकोट नगरपालिकाको दक्षिणतर्फ रहेको चौरमा निर्माण हुने भवनको शिलान्यास नगरप्रमुख मदनभक्त अधिकारी र उपप्रमुख शान्ति कोइरालाले संयुक्त रूपमा गरेका हुन्।
वडा कार्यालय भवन निर्माणको जिम्मा सूर्योदय निर्माण सेवा प्रालि, सिनामंगल, काठमाडौंले पाएको छ। भ्याट तथा पीएससहित ८८ लाख ७३ हजार २ सय ९ रुपैयाँ ७२ पैसाको लागतमा निर्माण हुने भवन २०८३ मंसिर २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सोही अवसरमा वडा कार्यालय भवनसँगै दक्षिणतर्फ निर्माण हुने चमेना गृह भवनको समेत शिलान्यास गरिएको छ। इन्जिनियर विजय न्यौपानेका अनुसार चमेना गृह भवन भ्याट तथा पीएससहित ३३ लाख ८५ हजार ३९ रुपैयाँ ८२ पैसाको लागतमा निर्माण हुनेछ। शिलान्यास कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले नयाँ वडा कार्यालय भवन निर्माण भएपछि वडा नम्बर ५ का नागरिकलाई वडा तहबाटै प्रभावकारी, सहज र व्यवस्थित रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने बताए। उनले भवन निर्माणको काम गुणस्तरीय रूपमा निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गर्दै नगरपालिकाबाट आवश्यक समन्वय तथा सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे।
वडाध्यक्ष रत्नप्रसाद सापकोटाले नयाँ भवन निर्माणसँगै वडाका प्रशासनिक तथा सेवा प्रवाहका काम थप व्यवस्थित हुने बताए। वडाबासीको आवश्यकतालाई ध्यानमा राखेर भवन निर्माण गर्न लागिएको उल्लेख गर्दै उनले निर्माण कार्यमा स्थानीयवासीको सहयोग, सहभागिता र निगरानी आवश्यक रहेको बताए।
कार्यक्रममा इन्जिनियर विजय न्यौपानेले वडा कार्यालय भवन तथा चमेना गृहको लागत इस्टमेट, निर्माण प्रक्रिया र प्राविधिक पक्षबारे जानकारी गराएका थिए।
शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का जनप्रतिनिधि दोर्णवन सन्यासीले स्वागत मन्तव्य राखेका थिए भने कार्यपालिका सदस्य एवं वडा नम्बर ५ का जनप्रतिनिधि शान्ति न्यौपानेले कार्यक्रमको सहजीकरण गरेकी थिइन्। कार्यक्रममा गैंडाकोट नगरपालिकाका कर्मचारी, वडाबासी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।







