ठूलो मात्रामा भन्सार छलीको सामान प्रहरी नियन्त्रणमा, ६२ लाख ५० हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद

नवलपुर, भाद्र २। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएको कपडा तथा तयारी पोसाक बरामद गरेको छ।

 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलीले कावासोती नगरपालिका-८, फलफूल चोकमा सवारी साधन जाँच गर्ने क्रममा पश्चिमबाट पूर्व नारायणगढतर्फ जाँदै गरेको ना.३ ख ४६७२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ट्रकमा बिल-बिजक नभएका विभिन्न प्रकारका सामान लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको थियो। बरामद सामान र ट्रक चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ।

प्रहरीले बरामद गरेको सामानमा विभिन्न रंगका कुर्ता–सुरुवाल १ हजार १६० थान, साडी १ हजार ५०० थान, काँचो कपडा २२५ थान (६ हजार ८७५ मिटर) र काँचो कपडा ३८४ थान (७ हजार ६८७ मिटर) रहेको सूचनामा उल्लेख छ।

बरामद सामानको कुल मूल्य ६२ लाख ५० हजार ५ सय रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भन्सार छली गरी अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले राजमार्ग क्षेत्रमा निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको