गैंडाकोट, ४ माघ । गैंडाकोट नगरपालिकाको वडा नम्बर ४ मा निर्माण भएको आधारभूत स्वास्थ्य इकाइ भवनको उद्घाटन भएको छ । संघीय सरकारको ३८ लाख रुपैयाँ लागतमा स्वास्थ्य इकाइ भवन निर्माण भएको हो ।
नगरको वडा नम्बर ४ मा रहेको स्वास्थ्य इकाइ केन्द्रको मंगलबार नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख पौडेलले स्वास्थ्य विभागले उपलब्ध गराएको ३५ प्रकारका औषधिहरु सहित नगरपालिकाले सुगर र प्रेशरका थप दुईथरि औषधीहरु पनि स्वस्थ्य इकाईबाट निःशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो ।
सरकारको आधारभूत स्वास्थ्यको पहुँच सबै वडामा पुर्याउने लक्ष अनुसार नगरका सबै माध्यमिक बिद्यालयहरुमा समेत स्टाफ नर्शको नियुक्ति गर्नेमा गैंडाकोट गण्डकी प्रदेशकै पहिलो पालिका भएको दावी गर्नुभयो ।
उहाँले जनताको सरकार घरदैलोमै हुनुपर्छ भन्ने मान्यता अनुसार वडामै स्वास्थ्योपचार केन्द्र स्थापना गरिएको बताउनुभयो ।
४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख विष्णुकुमारी कँडेलले संघीयताको मर्म नै जनताको घरदैलोमा पुगेर सेवा दिने भएकाले सोही अनुसार वडामा स्थापना भएको स्वास्थ्य इकाइबाट उपलब्ध सेवा-सुविधा लिन वडाबासीलाई आग्रह गर्नुभयो ।
गैंडाकोट नगरपालिकाको स्वास्थ्य चौकीका इन्चार्ज इन्द्रराज सापकोटाले स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने ३५ प्रकारका औषधीसहित प्राथमिक उपचार निःशुल्क उपलब्ध हुने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत बिष्णुप्रसाद भूसालले वडाहरुमा स्थापना गरिएका स्वास्थ्य कार्मचारीहरु प्रतिस्पर्धा गराएर नियुक्त गरिएको हुँदा उनिहरु क्वालिफईड र उत्किृष्ठ भएकाले स्वास्थ्य इकाईबाट ढुक्क भएर सेवा लिन आग्रह गर्नुभयो ।
कार्यपालिका सदस्य संगीता घिमिरे पंडितको स्वागत मन्तब्य रहेको उद्घाटन समारोहमा आफ्ना भनाईहरु राख्दै वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले मानिसका आधारभूत आवश्यकतामा स्वस्थ्य प्रमुख भएकाले वडामा स्थापना भएको आधारभूत स्वास्थ्य इकाईबाट गरिव निमुखाहरुलेहरुले पनि निःशुल्क उपचार गर्न पाउने बताउनुभयो । उद्घाटन समारोहको संचालन वडा नं ४ का वडा सदस्य तेजप्रसाद घिमिरेले गर्नुभएको थियो ।
वडामा स्थापना भएको स्वास्थ्य इकाइ केन्द्रमा १ जना हेल्थ असिस्टेन्ट र १ जना अनमीसहित रहने छन् ।