गैंडाकोट, मङ्सिर ५ । सञ्चार तथा सार्वजनिक वक्तृत्वकलाको क्षेत्रमा पहिचान बनाएका सुदिप चापागाईँले नयाँ मनोरञ्जनात्मक कार्यक्रम ‘द १५ मिनेट्स शो’ सार्वजनिक गर्ने भएका छन्। युट्युबमार्फत प्रसारण हुने यो कार्यक्रमले नेपाली डिजिटल मनोरञ्जनमा फरक स्वाद दिने अपेक्षा गरिएको छ।
‘द स्पिकिङ टाइटन’ को उपाधि जितेपछि सार्वजनिक वक्तृत्व, प्रशिक्षण तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका चापागाईँ यसपटक कार्यक्रम प्रस्तोताका रूपमा दर्शकमाझ आउन लागेका हुन्। सामान्य अन्तर्वार्ताभन्दा फरक अवधारणामा तयार गरिएको कार्यक्रममा अतिथिसँग रमाइलो कुराकानी, फटाफट प्रश्नोत्तर, अनुमानमा आधारित खेल तथा मनोरञ्जनात्मक चुनौती समावेश गरिनेछ। ‘गेस हु आई एम’, रमाइला प्रश्नोत्तर र स्पिन ह्विलमार्फत पुरस्कार तथा चुनौती कार्यक्रमका मुख्य आकर्षण रहनेछन्।
विभिन्न क्षेत्रका व्यक्तित्वलाई सहभागी गराएर उनीहरूको व्यक्तित्व, सोच र स्वभावलाई फरक शैलीमा दर्शकमाझ प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ। परम्परागत अन्तर्वार्ताभन्दा हल्का, रमाइलो र अन्तरक्रियात्मक शैलीमा कार्यक्रम अघि बढाइनेछ।
‘द स्पिकिङ टाइटन’ बाट प्राप्त पहिचानलाई डिजिटल मनोरञ्जनको क्षेत्रमा विस्तार गर्ने प्रयासस्वरूप चापागाईँले नयाँ कार्यक्रम ल्याउन लागेका हुन्। आफ्नै प्रस्तुति र फरक अवधारणासहित सुरु हुन लागेको ‘द १५ मिनेट्स शो’ नेपाली युट्युब सामग्रीमा नयाँ प्रयोगका रूपमा हेरिएको छ।







