प्रतिनिधिसभा विघटनपछि जसपा : जुन संविधान जलायो, अहिले उसैको माया पलायो!

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी (जसपा)मा पनि विवाद देखिएको छ। संसद विघटनपछि त्यसको विरोधमा जाने या निर्वाचनमा भन्ने बिषयमा जसपामा विवाद भएको हो।

संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरू संसद् पुनःस्थापनाको पक्षमा छन्। तर, पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरू मध्यावधि निर्वाचनको तयारीमा जुट्नुपर्ने पक्षमा देखिएका छन्।

यसरी संसद् विघटनबारे जसपामा पनि दुई धार स्पष्ट देखिएको छ। ओली ‘प्रतिगमन’ विरुद्ध नेपाली कांग्रेस, प्रचण्ड–माधव नेकपा र जसपाका एक्ला एक्लै जनप्रदर्शन राम्रै देखिएको अध्यक्ष भट्टराईले बताइरहेका छन्।

जसपाका नेता राजेन्द्र महतोले सार्वजनिक कार्यक्रममा ओली र प्रचण्ड–माधव पक्ष दुवैप्रति रुष्ट रहेको प्रतिक्रिया दिँदै आइरहेका छन्। यसले के देखाउँछ भने उनी पनि संसद् विघटनप्रति आन्दोलनमा जाने या ओली पक्षलाई साथ दिने भन्नेमा अलमलमै छन्। प्रतिनिधिसभा विघटनपछि नेता महतोले अझै स्पष्ट रुपमा आफ्नो धारणा राख्न सकेका पनि छैनन्।

उनले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा संसद पुनःस्थापनाको पक्षमा लाग्ने वा निर्वाचनको पक्षमा जाने भन्ने कुरा छुट्याउन मुस्किल पर्छ। उनले पश्चिम नवलपरासीमा पुगेर प्रधानमन्त्री ओलीलाई महाराजको संज्ञा दिएका थिए ।

‘संविधान जारी गर्ने समयमा अन्तरिम संविधानमा भएका व्यवस्थाहरु समेत कटौती गरेर तत्कालिन एमाले, माओवादी, नेपाली कांग्रेसलगायतका दलहरूले सहमतिमै संविधानमाथि प्रतिगमन गरेका थिए’ नेता महतोले भनेका थिए, ‘ओलीकै कारण नेपाली जनताले वर्षौं संघर्ष गरेर प्राप्त गरेको संविधानसँगै हालसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा बढेको छ।’

ओलीको प्रतिगामी कदमविरुद्ध जसपा शुरूदेखि नै विरोधमा रहे पनि अब संयुक्त आन्दोलनको विकल्प नरहेको भन्दै महतोले त्यसका लागि पहिला सडकमा रहेको नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तयार हुनुपर्ने धारणा व्यक्त गरे।

नेता महन्थ ठाकुरले भने केही दिनअघि प्रधानमन्त्रीले संसद् विघटन र संविधानको कुरा गर्दा सरकारमा बोलाएका भन्दै टिप्पणी गरेका थिए। यसले पनि जसपाका नेताहरूको अबको लाइन के हो ? भन्ने स्पष्ट हुन सकेको देखिँदैन।

बुधबार, फागुन ०५, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको