प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं पूर्वसांसद् एकनाथ रानाभाटको निधनचितवन । नेपाली कांग्रेसका नेता प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा पूर्वसांसद् एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा सोमबार दिउँसो १ः५० बजे निधन भएको छ । उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेसम्म उनको निवास रनपा १४ स्थित पिठुवाबाट शवयात्रा सुरु हुने नेपाली कांग्रेस चितवनले जनाएको छ । शवयात्रा कांग्रेस पार्टी कार्यालय, कमलनगरमा पुगेर ९ः३० बजे श्रद्धाञ्जली अर्पण गरी देवघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस चितवनका नेता पूर्वसांसद् एकनाथ रानाभाटको उपचारको क्रममा भएको निधनले अत्यन्तै मर्माहत भएको चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले शोक व्यक्त गरेका छन् । उनको निधनले नेपाली कांग्रेसले एक निष्ठावान् नेता गुमाएको भन्दै नेता श्रेष्ठले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसैबीच, नेपाली कांग्रेसका नेता प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं पूर्वसांसद् रानाभाटको निधनले असल प्रजातान्त्रिक योद्धा गुमाएको भन्दै नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले शोक प्रकट गरेका छन् । उनले भनेका छन्, ‘उहाँको निधनले एक सच्चा र इमान्दार योद्धा गुमाएको अनुभूति भएको छ । उहाँको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ यसैगरी, नेपाली कांग्रेस रत्ननगर नगरसमितिका सभापति रुपनराज घिमिरेले कांग्रेसका धरोहर रानाभाटको निधनले आफू र सिंगो नगरसमिति स्तब्ध भएको बताएका छन् । उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । यसैबीच, अमेरिका नेपाल पत्रकार संघ (नेजा)का कार्यवाहक अध्यक्ष विकासराज न्यौपानले आदरणीय अग्रज दाजु रानाभाटको निधनले आफू स्तव्ध भएको बताएका छन् । सोमबार, फागुन १०, २०७७ प्रकाशीत
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Radio Sanket Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer