काठमाडौं,१२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिको अवस्था नहेरी राजीनामा नगर्ने स्पष्ट पारेका छन् ।
ओली समूहको स्थायी कमिटी बैठकपछि सो पार्टीका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजीनामापछिको अवस्था सुनिश्चित नभइ अहिले राजीनामा नगर्ने स्पष्ट पारे ।
‘१७ पटकसम्म प्रधानमन्त्रीका लागि मतदान भएको हामीले भुल्नुहुँदैन । प्रधानमन्त्री र हाम्रा मुलुकमा राजनीतिक स्थायित्व हुन्छ कि हुँदैन भन्ने आधार तयार भएपछि हामी अघि बढ्छौँ’, उनले पत्रकारसँगको कुराकानीमा भने ।
संसदीय दल र केन्द्रीय कमिटीको बैठक तत्कालै बोलाउने निर्णय पनि ओली समूहले गरेको छ । संसदीय दलको नेता केपी शर्मा ओली नै रहेकाले ओलीले बोलाउनेबाहेक अरु दलको बैठक हुन नसक्ने जिकिर उनको थियो ।
नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री ज्ञवालीले बताए । ‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ’, ज्ञवालीले भने । त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।
बुधबार, फागुन १२, २०७७ प्रकाशीत