काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ ।
शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरूलाई प्राविधिक रूपमा भन्दा पनि नीतिगत रूपमा समाधान गर्न सरकार लागिपरेको बताउँदै राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिनुभयो । यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडी बढिरहेको भए पनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुभयो । निजी क्षेत्र नाफा मुखी हुने र सोही अनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको उहाँको भनाइ छ । तर, सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाको गुनासो थियो ।
कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरूले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकोले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार, चैत २०, २०७७ प्रकाशीत