
गैंडाकोट, असोज १८ । गैडाकोट नगरपालिका वडा नम्बर ७ मा रहेको महिला विकास केन्द्र ले बिहीबार आफ्नो सत्ताइसौं साधारण सभा आफ्नै सभा हालमा सम्पन्न गरेको छ।
संस्थाले आर्थिक वर्ष ८०।८१ मा करिब २ लाख बराबरको आर्थिक गतिविधि गरेको संस्थाका कोषाध्यक्ष सुमित्रा त्रिपाठीले प्रस्तुत गर्नुभयो। त्यस्तै सचिव सीता आचार्यले संस्थाले गरेका प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभयो। संस्थाका अध्यक्ष सरस्वती घिमिरेको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा गैंडाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष होमनाथ सापकोटा प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि सापकोटाले संस्थाले अगाडि बढाउने हरेक सकारात्मक क्रियाकलापमा वडाको सहयोग रहने बताउँदै संस्थालाई अगाडि बढाउनका लागि आग्रह गर्नुभयो। त्यस्तैगरी मिलिजुली बाल उद्यानका अध्यक्ष राजेन्द्र पौडेलले आजभन्दा २७ वर्ष अगाडि यस संस्था खोल्ने आमाहरूलाई सम्झँदै अब का दिनमा उहाँहरुले देखाएको बाटोमा अझ प्रगतिका साथमा अगाडि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा समाजसेवी गुरुप्रसाद कँडेल नारीदिप साकोसका अध्यक्ष दीपा सापकोटा नारायणी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी चापागाई गैडाकोट ७ का पूर्व वडा अध्यक्ष शशिधर कंडेल नारायणी सामुदायिक वनका अध्यक्ष नेत्रराज सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो।
नारी सशक्तिकरणलाई अगाडि बढाउनका लागि २७ वर्षअघि स्थापना भएको यस संस्थाले अहिलेसम्म आफ्नै भवन बनाएको छ। विवाह व्रतबन्ध तथा अन्य भोजभतेरका लागि आवश्यक पर्ने भाडाकुडाहरूको व्यवस्थापन गरेको छ। नारीहरूका लागि विभिन्न चाडपर्वमा माइती बनेको छ। दिदीबहिनीहरूका लागि विभिन्न सीपमूलक तथा नेतृत्व विकासमा कार्यक्रमहरू गर्दै आएको । ( राजेन्द्र पौडेलको समाचार)